माटो मिसिएको गिट्टी प्रयोगपछि ढलान भत्काइयो

म्याग्दी, २२ पुस – धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्। दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि गरिएको पिसिसी ढलानमा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि ढलान भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिइएको हो।

योजना अनुगमनका क्रममा सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले गुणस्तरहीन सामग्री प्रयोग भएको ढलान भत्काउन लगाउनुभएको हो।

स्थानीयवासीको गुनासोपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित अनुगमन गर्दा पिसिसी ढलानमा माटो मिसिएको गिट्टी प्रयोग भएको पुष्टि भएपछि तत्काल भत्काएर पुनर्निर्माण गर्न लगाइएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो।

“निर्माणस्थलमै तयार पारिएको सिमेन्ट, गिट्टी र बालुवाको मिश्रणमा सडक ग्राभेलका लागि कुटिएको बेस प्रयोग गरिएको भेटिएपछि थुपारिएको मसला फाल्न र ढलान भत्काउन निर्देशन दिएका हौँ,” उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गर्दै आगामी दिनमा यस्ता त्रुटि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।” उहाँले अनुगमनमा थप कडाइ गर्न पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

स्थानीयवासी विश्वास कुमाईले ढलानमा प्रयोग भएको सामग्रीको गुणस्तरप्रति शङ्का लागेपछि निर्माण व्यवसायीलाई सचेत गराउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जनप्रतिनिधिलाई जानकारी गराएको बताउनुभयो।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा लिइएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ जेठ २० गते रामसागर बिके–एसकेबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरको लापरबाहीका कारण ग्राभेलका लागि तयार पारिएको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सच्याइएको र आगामी दिनमा गुणस्तर तथा मापदण्डप्रति संवेदनशील रहने प्रतिबद्धता जनाउनुभयो।

पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने संरचना र निर्माण सामग्रीको गुणस्तरबारे लिखित निर्देशन दिइसकिए पनि कमजोरी देखिनु ठेकेदार पक्षकै त्रुटि भएको बताउनुभयो। गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो आयोजना म्याग्दी जिल्लाको रणनीतिक तथा प्राथमिकताप्राप्त योजना हो।

हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस आयोजनाअन्तर्गत ताकम खण्डमा करिब ६ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी गरिएको छ। ठेकेदारले संरचना निर्माण सम्पन्न गरी बेस र सब–बेस बिछ्याइसकेको जनाएको छ। छ किलोमिटर दूरीको सडक फराकिलो बनाउने, नाली तथा टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ।

धारापानीसम्म सडक २०६६ सालमै पुगेको थियो। यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख यातायात मार्ग हो। आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली तथा टेवा पर्खाल निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्रै आयोजना पूरा गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ। यसअघि सडक चारदेखि पाँच मिटर मात्र फराकिलो थियो।

यसै सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) खण्डमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा अर्को ठेक्का सम्झौता भई निर्माण सुरु भइसकेको छ।

गत असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिना रहेको छ। यो सडक म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकासहित बागलुङको ढोरपाटन तथा पूर्वी रुकुमका बासिन्दाका लागि पोखरा–काठमाडौँ आवतजावतमा करिब ७० किलोमिटर छोटो पर्ने भएकाले रणनीतिक महत्वको मानिएको छ। धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला हुँदै ढोरपाटनसम्म हालै सडक सञ्जाल विस्तार भएको छ।

Facebook Comments Box