संसद् सञ्चालनका लागि सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ, २३ चैत  – सङ्घीय संसद् सचिवालय ले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ। बैठकमा संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेश स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुधन गुरुङ ले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यद्यपि सर्वदलीय बैठकपछि कार्यसूचीमा परिमार्जन हुन सक्ने उनले बताएका छन्।

ती अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन्। बैठकमा सदनको कामलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ। उक्त समिति २१ सदस्यभन्दा बढी नहुने गरी गठन गर्ने तयारी रहेको छ।

हाल प्रतिनिधिसभा पुरानै नियमावलीका आधारमा सञ्चालन भइरहेकोमा नयाँ नियमावली बनाउने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। सम्भवतः आजै नियमावली मस्यौदा समिति गठन हुने बताइएको छ। लामो समयदेखि ओझेलमा परेका जनताका मुद्दा अब संसद्को शून्य र विशेष समयमार्फत उठाउन सकिनेछ।

आजको बैठकबाटै यी संसदीय अभ्यास सुरु गर्ने तयारी गरिएको छ। हालै सभामुखमा निर्वाचित डोलप्रसाद (डीपी) अर्याल ले शपथ लिएर पदभार सम्हालिसकेका छन् र आजदेखि प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।

Facebook Comments Box