भारत भ्रमणपछि प्रचण्ड आन्तरिक छलफलमा व्यस्त

काठमाडौँः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक राजनीतिक छलफलमा व्यस्त भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा उहाँले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो।

मंगलबार काठमाडौँ फर्किएलगत्तै प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरूसँग छलफलमा जुटेको उहाँको सचिवालयले जनाएको छ। “राष्ट्रिय सभाको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा आन्तरिक छलफल भइरहेको छ,” सचिवालय स्रोतले जनाएको छ। यस क्रममा अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट र परामर्श हुनसक्ने स्रोतको भनाइ छ।

विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने विषयमा तयारी भइरहेको छ। सोही सन्दर्भमा शीर्ष तहमा अनौपचारिक भेटघाट र छलफल जारी रहेको बताइएको छ।

स्रोतका अनुसार एमालेले सात सिट, नेपाली कांग्रेसले सात सिट र नेपाली कम्युनिष्ट पार्टीले चार सिट पाउने गरी सिट बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल भइरहेको छ। तर, प्रचण्डले मधेश प्रदेशमा प्रभाव रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

शीर्ष नेताहरूबीचको छलफलबारे जानकार एक नेताका अनुसार प्रचण्डले “सम्मानजनक सिट बाँडफाँटमा सहमति भए राष्ट्रिय सभामा संयुक्त रूपमा अघि बढ्न सकिन्छ” भन्ने धारणा राख्नुभएको छ।

Facebook Comments Box