लागुपदार्थ सेवन गर्दै टिकट काउन्टरमा काम गरिरहेका सात कर्मचारी पक्राउ

काठमाडौँ, २२ पुस – काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुपदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका छन्। नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खटिएको प्राविधिक ल्याब टेक्निसियन तथा लागुपदार्थ नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीको संयुक्त टोलीले परीक्षण गर्दा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन्।

त्यसैगरी, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी तथा धादिङको गल्छी घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछाने पनि पक्राउ परेका छन्।

लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख र हैरानी दिने गरेको सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो। पक्राउ परेकालाई नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार अदालतले लागुपदार्थ सेवनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो। उहाँका अनुसार उनीहरूमाथि थप अनुसन्धान जारी छ।

Facebook Comments Box