प्रधानमन्त्री ओलीद्वारा मधेसमा ५०० डिप बोरिङ जडान गरिने घोषणा

जलेश्वर, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न तत्काल ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गर्नुभएको छ।

महोत्तरीको मटिहानीमा आयोजित पुल र प्रसूति गृह उद्घाटन समारोहमा बोल्दै उहाँले मधेस प्रदेशका आठवटै जिल्लामा खानेपानी तथा सिँचाइको अभाव रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले सप्तरी जिल्लामा कोशी नदीको पहुँच भएका कारण तुलनात्मक रूपमा समस्या कम भए पनि बाँकी सातवटै जिल्लामा सरकार विशेष योजना लिएर जुटिसकेको बताउनुभयो।

उहाँले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको भन्दै पानीको अभावका कारण प्रभावित किसान र नागरिकका पक्षमा विशेष कार्यक्रम ल्याइने जानकारी दिनुभयो।

साथै, प्रधानमन्त्री ओलीले शिक्षा विकासको मेरुदण्ड भएको भन्दै स्थानीय बासिन्दालाई आफ्ना छोराछोरीलाई भेदभाव नगरी विद्यालय पठाउन आग्रह गर्नुभयो। उहाँले गरिबी निवारणदेखि समाज र राष्ट्रको समग्र विकासका लागि शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

Facebook Comments Box