प्रदेश सरकार खेलकुद विकासमा प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे
लमजुङ, २१ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर यसको विकासमा निरन्तर काम गरिरहेको बताउनुभएको छ ।
त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा बेँसीसहर नगरपालिका–७ सहजीमा सञ्चालन भएको ३३औँ त्रिवेणी कपको समापन समारोहमा बोल्दै उहाँले खेलकुद विकासका लागि प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश खेलकुदका लागि उपयुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आम्दानी बढाउन सहयोग पुग्ने बताउनुभयो । सहजी खेलमैदानलाई व्यवस्थित गर्न प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय युवापुस्ताले सामाजिक सञ्जाल तथा अन्य माध्यममा जिम्मेवारीबिनै अभिव्यक्ति दिने प्रवृत्तिले समाजमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै विचार पुर्याएर मात्रै विषयवस्तु प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, संविधानसभा सदस्य जमिन्द्रमान घलेलगायतको उपस्थिति रहेको थियो ।

