भीमफेदी–कुलेखानी सडकमा सुमो दुर्घटना : ६ मृतक मध्ये ४ जनाको पहिचान खुल्यो
मकवानपुर, २१ पुस – मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको छ।काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा ६ जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिचान खुलेका मृतकहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य बेगुसराई निवासी करिब ५० वर्षीय अरबिन्द कुमार र भारतकै बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनीस कुमार रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जना पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन। उनीहरूको उमेर अन्दाजी ३६ र ४० वर्षको हाराहारीमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ।
यस्तै, २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो।
हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा समेत घटनास्थल र अस्पताल पुगेका थिए।

