युके पठाइदिने प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ, २१ पुस – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–१ स्थायी ठेगाना भई हाल दाङमै बसोबास गर्दै आएका प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार इन्द्रबहादुर केसी र आइते तामाङले युके पठाइदिने भन्दै सात जना पीडितबाट कुल १३ लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यसैगरी विजय गुरुङले एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रवक्ता आचार्यले इन्द्रबहादुर केसी र आइते तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको र विजय गुरुङलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

