काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम, जाडो बढ्यो

काठमाडौँ, २१ पुस  – काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढ्दो क्रममा रहेको छ भने काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन भएको छ। मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै, ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ। तापक्रम यति तल झर्दा उपत्यकामा जाडोको प्रभाव थप बढेको छ। आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ, जसका कारण चिसो अझ तीव्र महसुस गरिएको स्थानीयवासीले बताएका छन्। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्ने पूर्वानुमान गर्दै अनावश्यक काममा बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू अरूको तुलनामा बढी जोखिममा रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। मन्त्रालयले न्यानो कपडा लगाउने, बिहान–साँझ चिसोबाट जोगिने, आवश्यक परे मात्र बाहिर निस्किने तथा स्वास्थ्यमा समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिन सुझाव दिएको छ।

Facebook Comments Box