कैलाली कारागारबाट निस्कने फोहोरले स्थानीयवासी प्रभावित
सुदूरपश्चिम, १९ पुस – धनगढी उपमहानगरपालिका–१ स्थित कैलाली जिल्ला कारागारबाट निस्कने ढल तथा फोहोरका कारण आसपासको वातावरण दुर्गन्धित बनेपछि स्थानीयवासी समस्यामा परेका छन्।
कारागारभित्रका शौचालयबाट निस्कने फोहोर उचित व्यवस्थापन नहुँदा वरिपरिको क्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासो छ। कारागार नजिकै रहेको निजी खेतीयोग्य जमिन ढलले भरिँदा स्थानीय पार्वती खरेल खेती गर्नबाट वञ्चित हुनुभएको छ।
खरेलले भन्नुभयो, “कारागारको शौचालय र ढलबाट बग्ने फोहोर वर्षौँदेखि मेरो पाँच कट्ठा जमिनमा जम्दै आएको छ। फोहोर जमेपछि न खेती गर्न सकिन्छ, न त दुर्गन्धका कारण नजिक जान नै सकिन्छ।” उहाँले विगतमा उक्त जमिनमा धान, गहुँ र तरकारी खेती गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो।
स्थानीयवासीका अनुसार फोहोर थुप्रिँदा उत्पन्न दुर्गन्धले सास फेर्नसमेत गाह्रो हुने गरेको छ भने झिँगा–लामखुट्टेको प्रकोप बढ्दा रोग फैलिने जोखिम बढेको छ।
बालबालिका, वृद्ध तथा बिरामीका लागि यो वातावरण अझै जोखिमपूर्ण बनेको उनीहरू बताउँछन्। कारागार आसपासका झण्डै एक दर्जनभन्दा बढी परिवार यस समस्याबाट प्रभावित छन्।
“वर्षायाममा त यहाँ हिँड्नै नसकिने अवस्था हुन्छ, ढल र सडकको पानी मिसिएर पूरै क्षेत्र दलदलजस्तै बन्छ,” स्थानीय प्रतिभा खरेलले गुनासो गर्नुभयो।
समस्या समाधानका लागि पार्वती खरेलले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, धनगढी उपमहानगरपालिका र वडा कार्यालयमा पटक–पटक निवेदन दिए पनि सुनुवाइ नभएको बताउनुभयो। तीन वर्षअघि जिल्ला प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म ठोस काम नभएको स्थानीयको गुनासो छ।
धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन नीतिअनुसार घरायसी तथा सार्वजनिक फोहोर स्रोतबाटै छुट्याएर सङ्कलन गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट र बायोग्यास उत्पादन गर्ने तथा नकुहिने फोहोरको पुनःप्रयोग र बिक्री गर्ने व्यवस्था छ।
साथै खोलानाला, नदी तथा सार्वजनिक जलस्रोतमा फोहोर फाल्न प्रतिबन्ध लगाइएको छ। तर यी व्यवस्था आफ्नो टोलमा कार्यान्वयन नभएको स्थानीय बताउँछन्।
धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले कारागारको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको भए पनि अहिलेसम्म सुनुवाइ नहुँदा समस्या जटिल बनेको बताउनुभयो। “तीन वर्षअघि प्रशासनले समाधान हुन्छ भनेपछि स्थानीय शान्त भएका थिए, तर अहिलेसम्म समस्या नटुंगिँदा आक्रोश बढ्दै गएको छ,” उहाँले भन्नुभयो।
स्थानीय पार्वती खरेलले उपमहानगरपालिकाले खोलामा फोहोर फाल्ने सर्वसाधारणलाई जरिवाना गर्ने गरे पनि कारागारबाट निस्कने ढलले निजी जमिन डुबाउँदा चासो नदिएको गुनासो गर्नुभएको छ।

