प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारको खर्च सीमा निर्धारण
काठमाडौँ, १९ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ। आयोगका अनुसार २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाखसम्म खर्च गर्न पाउनेछन्।
आयोगले जनाएअनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापका निर्वाचन क्षेत्रका उम्मेदवारले सबैभन्दा बढी खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
यसैगरी काभ्रेपलान्चोकका दुवै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि अधिकतम रु ३३ लाखसम्म खर्च गर्न पाउनेछन्। भौगोलिक विकटताको आधारमा यी क्षेत्रमा खर्च सीमा अन्यत्रभन्दा बढी तोकिएको आयोगले जनाएको छ।
सुगम जिल्लाका निर्वाचन क्षेत्रमा भने न्यूनतम रु २५ लाखसम्म मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ। सबैभन्दा कम खर्च सीमा तोकिएका पाँच निर्वाचन क्षेत्रमा काठमाडौँ–१, ३, ६, ७ र ८ रहेका छन्।
त्यसैगरी तेह्रथुम, पर्सा–१, २ र ३, रसुवा, काठमाडौँ–२, ४, ५, ९ र १०, ललितपुर–१ र २, मनाङ, कास्की–२ र रुकुम पूर्वका उम्मेदवारले रु २७ लाखसम्म खर्च गर्न पाउनेछन्। यस्तै ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख र ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३१ लाखसम्म चुनावी खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
आयोगले यस निर्वाचनमा उम्मेदवारले अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामा खाता खोली त्यसैमार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।

