आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
काठमाडौँ, १९ पुस – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरु भएको छ। यस अवधिमा विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिन्छ।
सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा चल्दै आएको मानिन्छ। वैदिक सनातन धर्मावलम्बीले आजदेखि घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन सुरु गरेका छन्।
पौष शुक्ल चतुर्दशीका दिन हात–खुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको तयारी गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गतको माघ माहात्म्यमा आधारित स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले बेलुकी कथावाचन गर्ने चलन छ।
एक महिनासम्म विधिपूर्वक व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये आठ–आठ अंश पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई दिने तथा यी पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा प्रवाह गर्ने विधि रहेको छ।
व्रतको अन्तिम दिन सय रोटी बर्तालुले आफैँ फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा छ। यसरी व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। स्वस्थानी शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफ्नो स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो भन्ने मान्यता छ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले आफ्नो आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानीसँग जोडेर व्याख्या गर्ने विश्वास पनि छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय यसका लागि उत्तम मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा आसिन, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ।
“उहाँका चार हातमध्ये एकमा नीलकमल, अर्कोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ,” उहाँले बताउनुभयो। धार्मिक विश्वासअनुसार स्वस्थानी व्रत विधिपूर्वक गरेमा बिछोडमा परेका जोडीको पुनर्मिलन हुन्छ, रोगव्याधि निको हुन्छ र इच्छित जीवनसाथी प्राप्त हुने कथाहरू प्रचलित छन्।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशअनुसार स्वस्थानी व्रत गरेको प्रसङ्ग स्वस्थानी कथामा उल्लेख छ।इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथा पनि स्वस्थानीमा वर्णन गरिएको छ।
यसै अवसरमा काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित साँखुस्थित शालिनदीमा आजदेखि एक महिनासम्म माघ स्नानसहित माधवनारायण मेला पनि सुरु भएको छ।
“माघ महिनामा यहाँ स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने विश्वास छ, यही कारण हरेक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन्,” इतिहासकार श्रेष्ठले बताउनुभयो।
यस वर्षको माधवनारायण मेलाका लागि शालिनदी क्षेत्रमा सबै तयारी पूरा भएको शालिनदी व्यवस्थापन समितिले जनाएको छ। शालिनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन्।

