तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ पुस – देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार हाल तराईका धेरै स्थान हुस्सुले ढाकिएका छन् । आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा भने हुस्सु कायमै रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन र नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Facebook Comments Box