अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
काठमाडौँ, १६ पुस — देशको अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यसहित आज काठमाडौँमा ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने महासङ्घले जनाएको छ ।
संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका व्यक्तिहरूको सहभागिता रहनेछ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी प्रवर्द्धन तथा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
अर्थतन्त्रमा देखिएका चुनौतीहरूको समाधान खोज्न संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

