मधेस प्रदेशमा खानेपानी र सिँचाइ समस्या समाधानमा चार मन्त्रीबीच छलफल
काठमाडौँ, ६ साउन – मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधानका लागि सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा चार मन्त्रीबीच विशेष छलफल भएको छ। वर्षात्का समयमा मधेस प्रदेशका आठ जिल्लामा वर्षा न्यून भएपछि खाद्यान्न उत्पादनका लागि आवश्यक पानी अभाव भएको अवस्था मद्देनजर राख्दै ऊर्जा,
जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवसँग मन्त्री अधिकारीले बैठक आयोजना गरेका थिए। ऊर्जा मन्त्रालयमा सम्पन्न उक्त बैठकमा चारै मन्त्रालयका सचिवहरू पनि सहभागी थिए। मन्त्री अधिकारीले मधेस प्रदेशमा वर्षा कम भएकाले रोपाइँ प्रभावित भएको भन्दै समस्या समाधानका लागि टोली परिचालन गरिएको जानकारी गराउनुभयो।
टोलीले उपलब्ध गराएको सुझाव अनुसार मन्त्रालयहरूले थप कदम चाल्ने प्रतिवद्धता जनाएको छ। बैठकले मधेस प्रदेशमा खानेपानी समस्या व्यापक रहेको तथ्यलाई स्वीकार्दै चार मन्त्रालयका सहसचिवहरूको समन्वयमा एक कार्यदल गठन गर्ने निर्णय गरियो। उक्त कार्यदलले छिटो समस्या पहिचान गरी तत्कालिन समाधानका उपायहरू खोज्ने छ।
जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराई क्षेत्रको करिब ५० प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको बताउँदै भूमिगत पानी सिँचाइ र खानेपानीका लागि प्रभावकारी विकल्प भएको बताउनुभयो। मन्त्री अधिकारीले किसानका समस्यालाई प्राथमिकतामा राख्दै चार मन्त्रालयबीच थप समन्वय आवश्यक रहेको र त्यसका लागि साझा प्रयास जारी रहने उल्लेख गर्नुभयो। उता, मन्त्री खड्काले सरकार जनतालाई चाँडो भन्दा चाँडो खानेपानी र सिँचाइ सेवा पु¥याउन लागि परेको र मन्त्रालयहरूबीच समन्वय गरेर काम अगाडि बढाउनुपर्ने बताए।

