आजको मौसमः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौँ, १६ पुस – देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

Facebook Comments Box