माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ,नपत्याए ज्योतिषकहाँ गएर चिना देखाउनु : केपी ओली
झापा, २१ फागुन – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्र बिलाएर जाने दाबी गरेका छन्। झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपछि बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माओवादी पार्टी आफैं सकिने टिप्पणी गरेका हुन्।
विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरुको नेतृत्वमा सञ्चालित सशस्त्र आन्दोलनलाई ‘झापा विद्रोह’का रूपमा चिनिन्छ। जसमा सहभागी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई पञ्चायती सरकारले २०२९ आजकै दिन अर्थात् फागुन २१ गते झापा र इलामको सीमामा पर्ने सुखानी जंगलमा गोली हानी हत्या गरेको थियो।
सोही विद्रोहका जगमा नेकपा (माले) हुँदै आजको नेकपा (एमाले) पार्टी निर्माण भएको हो। आफ्ना तिनै ५ सहयोद्धाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली शनिबार सुखानी पुगेका हुन्।
उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेपछि बिर्तामोडको सभामा ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा देखिने दाबी गरे।
‘भोट हाल, भोट नहाल। खाल्डोमा सुत या भुइँमा सुत। पक्की घरमा सुत, कच्ची घरमा सुत। छाप्रो बनाएर सुत, कुटीमा बस’, ओलीले भने, ‘तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ।’
आफूले यो कुरा २०५६ सालमै भनेको उल्लेख गर्दै ओली थपे, ‘दस वर्ष उग्रपन्थ माथि चढ्छ। दस वर्षपछि ओरोलो लाग्छ। दस वर्षमा लगभग सिद्धिन्छ।’
यस क्रममा माआोवादी २०५२ देखि २०६२ सम्म उकालो लागेको, त्यसपछि ओरोलो लाग्न सुरु भएको व्याख्या ओलीले गरे।
‘७२ मा आइपुग्दा लगभग सिद्धियो। ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो। बेलुनमा पम्प हालेर राख्दा बिस्तारै बिस्तारै सकिन्छ’, उनले भने, ‘अब म माओवादीलाई पम्प किन हाल्छु र?
पार्टी सिद्धिने देखेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा विरोध हुँदाहुँदै एमसीसी अनुमोदन गरेको दाबी गरे। ‘उन (प्रचण्ड) ले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक छ भनेर भन्न सकेका छैनन्, एमसीसी गलतै छ तर, एमालेले हामीलाई सिध्याउने भयो त्यसकारण राष्ट्रघाती काम गरेँ भन्छन्’, ओलीले भने, ‘सिध्याउने त बाबा तिम्रो चिनामा लेख्या छ।’ नपत्याए ज्योतिषकहाँ गएर चिना देखाउन प्रचण्डलाई सुझावसमेत उनले दिए।

