भेरी नदीमा जलस्तर बढेपछि तटिय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ असोज – निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेको छ। नदीमा जलस्तर बढेपछि तटिय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको बिन्दु पार गरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखालेसमेत हाइअलर्टको चेतावनी दिएको छ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।

भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको बिन्दु भनेको ५ मिटर हो। तर, अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ।

यस्तै, भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायतका बस्ती जोखिमका रहेका छन्।

यी १२ बस्तीका नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ। यता, भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए।

Facebook Comments Box