आन्दोलनमा बल प्रयोगको कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक

काठमाडौँ, १४ पुस – नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पार्नुभएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार त्यतिबेलाको परिस्थितिमा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने बताउनुभयो ।

“मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था छैन,” उहाँले भन्नुभयो । पूर्वगृहमन्त्री लेखकले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरण प्रस्तुत गरिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जेनजी समूहको भदौ २३ गतेको प्रदर्शनबारे सुरक्षा निकायबाट पूर्वसूचना प्राप्त भएपछि भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको थियो । बैठकमा आयोजक पक्षबाट प्रदर्शन शान्तिपूर्ण हुने जानकारी प्राप्त भएको उल्लेख गरिएको थियो ।

बैठकअघि नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिएको र कुनै पनि हालतमा मानवीय क्षति नहोस् भन्नेमा आफूले जोड दिएको लेखकले बताउनुभयो । प्रदर्शन नेतृत्वविहीन हुन सक्ने र घुसपैठको सम्भावनाबारे सुरक्षा निकायलाई सचेत गराइएको उहाँको भनाइ छ ।

बैठकमा बल प्रयोगसम्बन्धी कुनै निर्णय वा योजना नबनाइएको र सबै सुरक्षा निकायबीच समन्वय गरी शान्तिसुरक्षाको व्यवस्था मिलाउने निष्कर्ष निकालिएको उहाँले उल्लेख गर्नुभयो । बैठकपछि तत्कालीन प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफलमा पनि मानवीय क्षति नहोस् भन्ने विषयमै जोड दिइएको उहाँको भनाइ थियो ।

भदौ २३ गते माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुग्दा उग्र र हिंसात्मक बनेको र त्यसमा घुसपैठ भएको लेखकले बताउनुभयो । आयोजकहरूले नै आन्दोलन ‘हाइज्याक’ भएको भन्दै सहभागीलाई तितरबितर हुन आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदर्शन हिंसात्मक बनेर मानवीय क्षति भएपछि आफू अत्यन्त पीडित र मर्माहित भएको उल्लेख गर्दै पूर्वगृहमन्त्री लेखकले सोही दिन नै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । “मानिसको मृत्यु भएपछि पदमा रहिरहनु नैतिक हुँदैन भन्ने ठानेँ,” उहाँले भन्नुभयो ।

उहाँले भदौ २४ मा भएका घटनाले मुलुकको स्वाभिमान, लोकतान्त्रिक मूल्य र संवैधानिक संस्थामाथि गम्भीर आघात पुगेको बताउनुभयो । सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचनामा भएको क्षति जेनजी आन्दोलनको मूल भावनाविपरीत रहेको र ती घटना योजनाबद्ध घुसपैठका कारण भएको दाबी उहाँले गर्नुभयो ।

व्यक्तिगत क्षतिबारे जानकारी दिँदै लेखकले महेन्द्रनगरका आफ्ना दुई घर जलेर नष्ट भएको, काठमाडौँस्थित निवास गम्भीर रूपमा क्षतिग्रस्त भएको र प्रदर्शनकारीको आक्रमणबाट आमालाई जोगाउने क्रममा अत्यन्त कठिन अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । पछि आमाको निधन भएको र शान्ति प्रक्रिया तथा संविधान निर्माणसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू आगलागीमा नष्ट भएको उहाँले बताउनुभयो ।

पूर्वगृहमन्त्री लेखकले आफ्नो कार्यकालमा नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपाल प्रहरी ऐन समयानुकूल बनाउन विधेयक संसद्मा दर्ता गरिएको, सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको तथा गैरसरकारी संस्थामा आउने वैदेशिक सहयोगलाई पारदर्शी बनाउने कानुनी व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

साथै नागरिकता, कारागार व्यवस्थापन, राष्ट्रिय परिचयपत्र, स्थानीय प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित क्षेत्रमा पनि सुधारका पहल गरिएको उहाँको भनाइ थियो ।

Facebook Comments Box