निर्वाचन आउन ६५ दिन बाँकीः आयोगद्वारा उम्मेदवारको खर्च सीमा निर्धारण
काठमाडौँ, १५ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्वाचन आयोगले निर्धारण गरेको छ। आयोगले सुगम र दुर्गम क्षेत्रका आधारमा निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा तोकेको हो।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्र—क्षेत्र नं १, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। यसैगरी १७ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख रुपैयाँ खर्च सीमा तोकिएको छ।
त्यस्तै ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सोही खातामार्फत खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम, थर र विवरणसहित निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनुपर्नेछ।
निर्धारित खर्च सीमाभित्र रहेर निर्वाचन खर्च गर्नुपर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।

