रसुवागढी नाका पुनः सञ्चालनमा, आइतबारदेखि आवतजावत सुरु

रसुवा, १४ पुस – गएको असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाकामा आइतबारदेखि पुनः आवतजावत सुरु भएको छ। आइतबार बिहानदेखि नै नेपाली ट्रक चालकहरू सामान लिन केरुङतर्फ प्रस्थान गर्न थालेका छन्।रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएपछि नाका सञ्चालनको बाटो खुलेको हो।

चिनियाँ पक्षले पुस १७ गतेदेखि औपचारिक रूपमा नाका खोल्ने जानकारी गराएको पनि उहाँले बताउनुभयो। सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार असार २४ गतेअघि केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक तथा व्यवसायीका प्रतिनिधि आइतबार केरुङतर्फ गएका छन्।

ल्हेन्देखोला मितेरी पुल बाढीले बगाएपछि असारदेखि नै रसुवागढी नाकाबाट व्यापार पूर्ण रूपमा ठप्प थियो। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत वर्षको तुलनामा यस अवधिमा करिब २० अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व नोक्सान भइसकेको छ।

चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ। साथै विदेशी व्यापारिक प्रतिष्ठानले सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्ने तथा नेपाली चालक र कर्मचारीले प्रवेशअघि सवारीसाधन लोड, कागजी प्रक्रिया र आवश्यक तयारी पूरा गर्नुपर्ने जनाइएको छ।

आगामी बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ। यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागू गरिने जनाइएको छ।सीमाक्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिने छ।

चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहने र बाँकी समयमा दुवैतर्फबाट सवारी आवागमन नियन्त्रण गरिनेछ। जनवरी ८ पछि भने चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सामान्य भन्सार समयभन्दा एक घण्टा बढी सवारी प्रवेश खुला रहनेछ। साथै दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने छ।

चिनियाँ लगानीमा निर्माण भएको मितेरी पुल २०७२ सालको भूकम्पपछि जीर्ण अवस्थामा पुगेको थियो। गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर लामो सडकखण्डमध्ये ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुर्‍याउनुका साथै रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा कटान गरेको थियो। कटान भएका स्थान मर्मत गरी हाल सवारी सञ्चालन गरिएको छ।

Facebook Comments Box