पूर्व ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ, १४ पुस – पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो।
ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तर्गतको आयोजना समन्वय एकाइ, श्रीमहल ललितपुरको सिफारिसमा उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय पुस १३ गते भएको हो भने डेढ वर्षको अवधि भने सूचना प्रकाशित भएको मिति पुस १४ गतेदेखि लागू भएको छ।
कान्छाराम कन्स्ट्रक्सनसँगै छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन (चीन) पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। यसैगरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि, धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव रहेका छन्।
त्यस्तै रौतामाई गाउँपालिका, उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि, धनुषा र विशाल निर्माण सेवा, सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्। सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान रहेका छन्।

