बालाजुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौँ, १० पुस – काठमाडौँको बालाजु क्षेत्रमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित बाइसधारा मन्दिर नजिकै गएराति करिब साढे १० बजे बा.प्र–०१–००६ ख ३४५४ नम्बरको टिपरले लु.५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो।
दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका–५ घर भई हाल काठमाडौँको बसुन्धरामा बस्दै आएका २१ वर्षीय सागर खड्काको मृत्यु भएको हो। गम्भीर घाइते खड्कालाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई हाल काठमाडौँ–१६ बालाजु हाइटमा बस्दै आएका २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा चोट लागेका उनी हाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक फरार रहेका छन् भने टिपरलाई बालाजु प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ।

