वीरगञ्ज नाकाबाट पाँच महिनामा करिब ४० अर्बको निर्यात
वीरगञ्ज (पर्सा), १० पुस – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वीरगञ्ज नाकाबाट रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामग्री निर्यात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत अर्थात् रु १८ अर्ब ७९ करोडले बढी हो। गत आवको पाँच महिनामा वीरगञ्ज नाकाबाट रु २१ अर्ब १८ करोड बराबरका वस्तु निर्यात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवमा निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। कार्यालयका तथ्याङ्कअनुसार यस अवधिमा रु २० अर्ब ७६ करोड मूल्यको भटमासको प्रशोधित तेल निर्यात भएको छ।
त्यसैगरी रु तीन अर्ब सात करोडको फलफूलको जुस, रु दुई अर्ब ८७ करोडको सूर्यमुखीको प्रशोधित तेल, रु एक अर्ब ९७ करोडको पाम तेल र रु एक अर्ब ५० करोड बराबरका विभिन्न प्रकारका कपडा निर्यात भएका छन्। निर्यात वृद्धि उद्योग उत्पादन र बाह्य बजार माग बढेको संकेत भएको भन्सार कार्यालयले जनाएको छ।

