बिलाउनीको झाडी फाडेर बने सुन्तला बगान
म्याग्दी, १० पुस – म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडीले ढाकिएको भिरालो पाखो फाँडेर व्यावसायिक सुन्तला र केराको बगैँचा विकास गरेका छन्। दुई दशकअघि स्याल लुक्ने झाडीले भरिएको पाखो अहिले हराभरा बगैँचामा परिणत भएको छ।
स्थानीय किसान मित्रलाल गौतमका अनुसार कोदो र मकैखेती छाडिएपछि बाँझिएको जमिनमा बिलाउनी फैलिएको थियो। “केरा र सुन्तलाखेती सुरु गरेपछि आम्दानी हुन थाल्यो, घरखर्च र छोराछोरीको पढाइका लागि खाडी जानुपरेको छैन,” उहाँले भन्नुभयो।
गौतमले यस वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ भने केराबाट थप एक लाख रुपैयाँ आम्दानी हुने अपेक्षा छ। १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा विस्तार गर्नुभएका उहाँले विसं २०५७ मा साउदी अरबबाट फर्किएपछि खेती सुरु गर्नुभएको हो।
उहाँसँगै छिमेकी चन्द्रमा पाइजा, चनदेवी पुनलगायत किसानले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन्। नरालेका समलाल जुग्जालीले २०५० को दशकमा यस क्षेत्रमा सुन्तलाखेती भित्र्याउनुभएको थियो। अगुवा किसान भूपेन्द्र शर्माका अनुसार मालिका–७ अन्तर्गत साविक बिम गाविस क्षेत्रबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुँदै आएको छ।
पोखरा र चितवनका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला खरिद गर्ने गरेका छन्। अर्कला, नराले, टुनिबोट, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा, ढुनोटलगायत टोलमा व्यावसायिक सुन्तलाखेती फैलिएको छ। साठीभन्दा बढी घरपरिवार यसमा संलग्न भई वार्षिक ६० हजारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
विदेशमा लामो समय काम गरेका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षदेखि सुन्तलाखेतीलाई आम्दानीको मुख्य स्रोत बनाएको बताउनुभयो। “विदेशको दुःख सम्झिँदा यही खेती पेन्सनजस्तो भएको छ,” उहाँले भन्नुभयो। कृषकहरूले व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानीका लागि क्रेट आवश्यक रहेको बताएका छन्।

