महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू
महेन्द्रनगर, २६ पुस – कञ्चनपुरको लालझाडी गाउँपालिका–४, जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुहुन्छ । हिउँद सुरु भएसँगै चौधरी दम्पती भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको बगरमै झोपडी बनाएर बस्दै आएका छन् ।
उहाँहरू विगत चार वर्षदेखि हरेक हिउँदमा करिब छ महिना नदीको बगरमै बस्दै बालुवा र गिट्टी छानेर बिक्री गर्दै जीविका चलाउँदै आउनुभएको छ । “गरेर खाने बानी भइसकेको छ, ढुङ्गा–गिट्टी गाह्रो भनेर के गर्नु,” मुस्कुराउँदै भजौराले भन्नुभयो, “अरू बेला खेतीपाती गर्छौँ, हिउँद लागेपछि महाकालीकै बगर आउँछौँ ।”
मङ्सिरदेखि वैशाखसम्म बगरमै रात बिताएर बिहानदेखि साँझसम्म बालुवा छान्ने उहाँहरूको दैनिकी हो । “झोपडीको बास भए पनि पेट पाल्न यहीँ पसिना बगाउनुपर्छ,” उहाँले भन्नुभयो, “महिनामा रु २५–३० हजारसम्म कमाइ हुन्छ, त्यसैले घरखर्च चल्छ ।” चार छोरी र तीन छोरा गरी सात सन्तानको जिम्मेवारी भएकाले वृद्धावस्थामा पनि श्रम गर्न बाध्य भएको उहाँहरूको भनाइ छ ।
यस्तै, भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्ट र उहाँकी श्रीमती पनि महाकालीको बगरमै बालुवा र गिट्टी छानेर जीविका चलाइरहनुभएको छ । “यहाँको दुःखले घरको चुल्हो बल्छ,” भट्टले भन्नुभयो, “डेढ दशकदेखि बगरकै सङ्घर्षले जीवन धानिएको छ ।” उहाँका दुई छोरा रोजगारीका लागि भारतको बैंगलोर गएका छन् ।
“प्रतिट्रली बालुवा रु दुई हजार र गिट्टी रु तीन हजारमा बिक्री हुन्छ,” भट्टले बताउनुभयो, “तर गिट्टी छान्ने काम सामान्य दुःखले सम्भव हुँदैन ।” भुजेला, ओदाली, बडैपुर र पिपरियाका स्थानीयका लागि बगर नै रोजगारीको गन्तव्य बनेको उहाँको भनाइ छ । पहिले दलित र सोनाहलगायत विपन्न समुदायको बाहुल्य रहे पनि अहिले कञ्चनपुर र कैलालीका विभिन्न ठाउँबाट समेत मानिसहरू बगरमा काम गर्न आउने गरेका छन् ।
भीमदत्त नगरपालिका–११ भुजेलादेखि वडा नं १३ को झोलुङ्गे पुलसम्मको क्षेत्रमा हाल सयौँ परिवार बालुवा र गिट्टी छानेर आयआर्जनमा जुटेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले बताउनुभयो । “मेरो वडामै डेढ सयभन्दा बढी परिवार बगरमा निर्भर छन्,” उहाँले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका नागरिकका लागि बगर जीविकाको आधार बनेको छ ।”
बगरमा काम गर्नेहरूमा विद्यार्थीसमेत छन् । बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा–९ की भूमिका धामी र कक्षा–१० की ललिता खत्री पनि बगरमा बालुवा छान्दै भेटिनुभयो । “अहिले विदाको समय भएकाले घरखर्च र आफ्ना आवश्यकताका लागि काम गरिरहेका छौँ,” भूमिकाले भन्नुभयो, “विद्यालय सकिएपछि बेलुकीपख पनि यहाँ आइरहेका हुन्छौँ ।”
बर्सातमा नदीको बहाव बढ्ने भएकाले काम गर्न नसकिने र हिउँदमा भने महाकाली आसपासका बस्तीका लागि बगर मुख्य रोजगारीस्थल बन्ने गरेको स्थानीयको भनाइ छ । ट्र्याक्टरहरू बगरमै पुगेर बालुवा र गिट्टी खरिद गर्ने गरेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका–१३ का मनोज साउँद विगत दस वर्षदेखि दम्पतीसहित बगरमै श्रम गर्दै आउनुभएको छ । “बिहानदेखि साँझसम्म छानमै व्यस्त हुन्छौँ,” उहाँले भन्नुभयो, “एक सिजनमा रु डेढदेखि दुई लाखसम्म कमाइ हुन्छ, यही हाम्रो आधार हो ।”

