सिरहामा बालिका हत्या प्रकरण: तीन सातासम्म पनि दोषीको पहिचान भएन
सिरहा, १० पुस – सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन। दोषी सार्वजनिक नहुँदा पीडित परिवार र स्थानीयवासीमा आक्रोश बढ्दै गएको छ।
गत मङ्सिर २२ गते दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो। तर घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्।
मृतककी आमा दयावती दनुवारले छोरीको हत्या भए पनि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताउनुभयो। उहाँका अनुसार पीडाको घडीमा पनि पीडितको आवाज सुन्ने कोही नभएको महसुस भइरहेको छ। स्थानीयवासीले शव अर्धनग्न अवस्थामा फेला परेको भन्दै बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गरेका छन्।
यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ। दोषी पक्राउको माग गर्दै स्थानीयले यसअघि आन्दोलनसमेत गरेका थिए।

