लुम्बिनी–गण्डकी प्रदेशको सीमामा अस्थायी प्रहरी चौकी स्थापना

पाल्पा, ५ असार – लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। कालीगण्डकी करिडोरमार्फत बढ्दो आवतजावतसँगै चोरी निकासी, अवैध क्रियाकलाप र अपराध नियन्त्रणका लागि चौकी स्थापना गरिएको हो।

निस्दी गाउँपालिका–१ र २ का स्थानीयलाई शान्ति सुरक्षा प्रदान गर्न, सवारी दुर्घटनामा कमी ल्याउन र अपराध नियन्त्रण गर्नका लागि भोटाहामा सेवा थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भाडाको घरमा सञ्चालनमा आएको उक्त चौकीका लागि निस्दी गाउँपालिकाले आवास सुविधा, आवश्यक सामाग्री सहयोग गरेको र एक थान मोटरसाइकल समेत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो।

प्रहरी प्रधान कार्यालयले गत वैशाखमा अस्थायी चौकीको स्वीकृति दिएपछि तयारी थालिएको थियो। अहिले पाल्पा जिल्लामा १९ वटा स्थायी र ६ वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन्। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार सीमाक्षेत्रमा हुने सम्भावित अवैध गतिविधि नियन्त्रणमा यो चौकी प्रभावकारी हुने विश्वास गरिएको छ।

Facebook Comments Box