निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक
काठमाडौँ, १० पुस – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले आचारसंहिताको मस्यौदा तयार गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले सरोकारवालाबाट सुझाव लिन मस्यौदा सार्वजनिक गरेको हो।
आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश छन्। नयाँ आचारसंहिता लागू भएसँगै निर्वाचन आचारसंहिता–२०७९ खारेज हुने आयोगले स्पष्ट गरेको छ। मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न सकिने, विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने प्रावधानसमेत आचारसंहितामा समेटिएको छ।

