भाद्र शुक्ल चतुर्थीः देशभर गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, ११ भदौ

अग्रपूजाका अधिकारी, विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने प्रचलन रहँदै आएको छ । सत्ययुगमा आजकै दिन भगवान् गणेशको जन्म भएको धार्मिक विश्वास छ । यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश जन्मोत्सव मनाइँदैछ ।

शिव–पार्वतीका पुत्र गणेशलाई सबै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको धर्मशास्त्रविद्हरू बताउँछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष सदस्य प्रा.डा. रामचन्द्र गौतमका अनुसार भाद्र शुक्ल तृतीयामा सुखद दाम्पत्य जीवन तथा शान्तिको कामना गरेका व्रतालुले आज विघ्न नआओस् भनी गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

गौतमका अनुसार आज बिहान हरितालिका (तीज) व्रतको पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गर्दै अर्घ्य दिने प्रचलन छ । यस अवसरमा कतिपय श्रद्धालुहरुले गणेश चतुर्थीको व्रतसमेत गर्छन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने नेवार समुदायको परम्परा छ ।

विसं २०६५ देखि गणेश चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा निकाल्ने चलन सुरु भएको हो । विसं २०६४ मा यही दिन राष्ट्रिय धर्मसभाको स्थापना भएकाले यसलाई धर्मसभा स्थापना दिवसका रूपमा पनि मनाइने गरिएको छ ।

Facebook Comments Box