बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

सुनसरी, ९ पुस – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब सबै प्रकारका प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध हुने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा. डा. अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध–स्वचालित तथा किट आधारित प्रविधिबाट गरिने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस) अन्तर्गतका बिरामीका लागि दुई घण्टाभित्र र बाह्य तथा भर्ना (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

उक्त उद्देश्यका लागि यसअघि छुट्टाछुट्टै रूपमा सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला’ यही पुस ५ गतेदेखि सञ्चालनमा ल्याइएको प्रवक्ता प्रधानले जानकारी दिनुभयो । यसअघि आपतकालीन ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र हुने गरेकामा नयाँ व्यवस्थापछि सबै प्रयोगशाला परीक्षण एउटै प्रणालीमार्फत उपलब्ध हुने भएका छन् ।

यसले रुटिन र आपतकालीन ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुने विश्वास गरिएको छ । नयाँ व्यवस्थाले वार्ड राउन्डका क्रममा बिरामीका प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको प्रवक्ता प्रधानले बताउनुभयो । प्रतिष्ठानका अनुसार आपतकालीन, आइपिडी तथा इएचएस (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि प्रयोगशाला नमुना सङ्कलन सेवा पनि चौबिसै घण्टा उपलब्ध हुनेछ ।

Facebook Comments Box