दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु

खोटाङ, ८ पुस – राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सुरु गरिएको छ । दिक्तेल बजारको भानुचोकमा रहेको उक्त सालिक लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको थियो । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनर्निर्माणसहित बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय, खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीर्ण अवस्थामा पुगेको सालिकको संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनर्निर्माणको काम सुरु गरिएको हो । पुनर्निर्माणअन्तर्गत सालिक वरपर टायल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकमा साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी क्षेत्रको सौन्दर्यकरण गरिने जनाइएको छ ।

यस कार्यका लागि स्थानीय टोल विकास संस्था र स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा योजना अघि बढाइएको कार्यालयले जनाएको छ । पछिल्लो समय सङ्घीय अनुदान कटौती हुने अवस्था रहेकाले समयमै बोलपत्र प्रक्रिया अघि नबढाए बजेट फ्रिज हुने जोखिम देखिएपछि सबै सरोकारवाला निकायसँग विस्तृत समन्वय गर्न नपाइए पनि निर्माण कार्य तत्काल सुरु गरिएको दाहालको भनाइ छ ।

कार्यालयका अनुसार भानुचोकमा सालिक पुनर्निर्माण तथा बजार सौन्दर्यकरणका लागि गत कात्तिक २ गते बोलपत्र आह्वान गरिएको थियो । रु एक करोड लागत अनुमान गरिएको योजनाको ठेक्का सुदेवी कन्स्ट्रक्सन प्रालि, हलेसीले रु ८१ लाख नौ हजार २२९ मा लिएर निर्माण कार्य सुरु गरेको हो । यसैसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत अघि बढाइने कार्यालयले जनाएको छ ।

Facebook Comments Box