मेची भन्सार कार्यालयः पाँच महिनामा रु २० अर्ब १४ करोडको आयात
झापा, ८ पुस – चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो ।
गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाख मूल्यका वस्तु तथा सामग्री आयात भएका थिए । यद्यपि चालु आवको पहिलो पाँच महिनामा यस नाकाबाट हुने निर्यात भने घटेको छ । मङ्सिर मसान्तसम्म रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ११ अर्ब ४७ करोड ९३ लाख मूल्यका वस्तु तथा सामग्री निर्यात भएका थिए ।
यसअनुसार निर्यात ६.६५ प्रतिशतले घटेको कार्यालयले जनाएको छ । पूर्वीनाकाबाट निर्यात हुने प्रमुख वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो र फलामे पाता रहेका छन् । यस्तै आयाततर्फ पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गार सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता–चप्पल र खनिजजन्य वस्तु प्रमुख रहेका छन् ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म आयात–निर्यात कारोबारबाट रु छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

