नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंमा उद्घाटन
काठमाडौं, २७ पुस – नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले गर्नेछन् ।
उद्घाटन सत्रपछि हुने बन्द सत्रको सभापतित्व भने विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ ।
तर, को जेष्ठ सदस्य हुने भन्ने विषयमा अझै टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिनुभयो ।
विशेष महाधिवेशन सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्व उपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी कांग्रेस विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका थिए । सोही मागअनुसार आइतबार विशेष महाधिवेशन उद्घाटन हुन लागेको हो ।
आचार्यका अनुसार २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सोही परम्पराअनुसार यसपटक काठमाडौं जिल्ला सभापतिले उद्घाटन सत्रको सभापतित्व गर्नेछन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेका थिए । विशेष महाधिवेशन २७ र २८ पुसमा सञ्चालन हुनेछ ।

