दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा
म्याग्दी, ८ पुस – दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो सडक म्याग्दी जिल्लाको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त आयोजना हो ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा रहेको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्म ढलान, कालोपत्र र ग्राभेलको काम भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८१ जेठ २० गते रु १४ करोड ६१ लाख लागतमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । ताकम खण्डमा करिब ९ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भइसकेको र संरचना निर्माण पूरा गरी बेस तथा सब–बेस बिछ्याउने काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
छ किलोमिटर दूरीमा सडक फराकिलो बनाउने, नाली तथा टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमै सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाले प्रयोग गर्ने मुख्य मार्ग हो ।
सडक स्तरोन्नति कार्यले तीव्रता पाएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । उहाँका अनुसार आठ मिटर चौडाइमा सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।
यसअघि चारदेखि पाँच मिटर चौडाइमा रहेको उक्त सडकलाई व्यवस्थित रूपमा विस्तार गरिएको हो । यसै सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) खण्डमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा अर्को ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिनुभयो ।
गत असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको उहाँले बताउनुभयो ।
धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया र मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडक सञ्जालसँग जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्मको सडक यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

