जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान
ताप्लेजुङ, ७ पुस – केही दिनयता चिसो बढेसँगै ताप्लेजुङका हिमाली क्षेत्रका बस्तीहरू सुनसान बन्न थालेका छन्। जाडो छल्न स्थानीयवासी अन्यत्र सरेपछि उच्च हिमाली बस्तीहरू खाली भएका हुन्।
जिल्लाको मिक्वाखोला गाउँपालिका–५ अन्तर्गत तोक्पेगोला र लोदेनका माथिल्ला भेगका बासिन्दा जाडो सुरु भएसँगै पशुचौपायासहित तल्लो (औल) क्षेत्रतर्फ झरेका छन्।
तोक्पेगोलाका मिलनदोर्जी शेर्पाका अनुसार हिउँद याममा अत्यधिक चिसो हुने भएकाले पशुपालक र व्यवसायमा संलग्न व्यक्ति तल्लो क्षेत्रका घर तथा खर्कमा बसाइ सर्छन्। कतिपय भने आफन्त भेटघाट तथा घुमघामका लागि अन्यत्र जाने गरेका छन्।
सामान्य अवस्थामा तोक्पेगोलामा सात परिवार बसोबास गर्ने गरे पनि हाल सबै घर रित्तो रहेको शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार घुन्सा र फलेलगायत माथिल्लो क्षेत्रमा करिब ४० देखि ४५ परिवार बसोबास गर्ने गर्छन्, तर तीमध्ये आधाजसो परिवार मङ्सिरको अन्त्यदेखि नै घरमा ताल्चा लगाएर औलतर्फ सरेका छन्।
स्थानीय छेतेन डण्डू शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश बासिन्दा जाडो छल्न अन्यत्र जाने गरेका छन्। वर्षायाममा खेतीपातीमा व्यस्त रहने उनीहरू पुस र माघ महिनामा बढी चिसो हुने भएकाले काठमाडौं, सिक्किम, दार्जेलिङलगायत स्थानतर्फ जाने वा अन्य घरमा बस्ने गर्छन्। घुन्सामा भने आधाजसो पर्यटन व्यवसायमा संलग्न व्यक्ति घरमै बस्ने गरेको उहाँले बताउनुभयो।
हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरू बर्सेनि जाडो छल्न अन्यत्र सर्ने चलन रहे पनि पछिल्ला वर्षमा बिजुली र सञ्चार सुविधाको विस्तारसँगै अब भने पूरै गाउँ खाली हुने अवस्था घट्दै गएको स्थानीयको भनाइ छ।

