कोदो–मकै फल्ने बारीभरि लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
बागलुङ, ७ पुस – पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण गाउँ रित्तिँदै गएका छन्। गाउँमा बसिरहेका धेरैजसो मानिस पनि सहर झर्ने तयारीमा छन्। तर, यस्तै परिवेशमा बागलुङको किमबोट गाउँ छाड्न नसक्ने किसानका रूपमा लोकनाथ कँडेल चिनिनुहुन्छ।
सुविधाको खोजीमा १३ वर्षअघि बागलुङ बजार झर्नुभए पनि उहाँ अहिले पनि प्रायः गाउँमै भेटिनुहुन्छ। यसको मुख्य कारण हो—सुन्तलाखेती। जिल्लामै अगुवा किसानका रूपमा परिचित कँडेलले बसाइँ सरे पनि जग्गा जमिन र पुर्ख्यौली घर भने छोड्नुभएको छैन।
किमबोट गाउँमा कँडेलका ३२० बोट सुन्तला छन्। तीमध्ये २५० बोटले उत्पादन दिइरहेका छन्। सुन्तलाको स्याहार–सुसारका लागि उहाँ हरेक हप्ता गाउँ पुग्नुहुन्छ। साढे तीन दशकअघि सुरु गरिएको सुन्तलाखेती अहिले उहाँको मुख्य आम्दानीको स्रोत बनेको छ।
विसं २०४७ मा रु ३५ हजार लगानी गरेर सुरु गरिएको सुन्तलाखेती आज फस्टाउँदै गएको छ। त्यसबेला बागलुङ जिल्लामा सडकसमेत नपुगेको अवस्था थियो। बिहुँ क्षेत्रमा स्थानीय किसान कासीराम कँडेलबाट प्रेरणा लिएर सुन्तला खेती सुरु गर्नुभएका उहाँ अहिले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आउनुभएको छ।
“औषधोपचारका लागि अस्पताल नजिक बस्न भनेर मात्रै बजार झरेको हुँ,” कँडेल भन्नुहुन्छ, “मेरो मन त सधैं गाउँमै हुन्छ। सुन्तलाको बगान छ, हेरचाह नगरी हुँदैन। टिपाइँको बेला त चोर लाग्ने डरले पनि गाउँमै बस्नुपर्छ।”
कोदो–मकै फल्ने बारीभरि सुन्तला
आज लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो र मकै खेती गरेर गुजारा चलाउने गरेको कँडेल सम्झनुहुन्छ। मकै र कोदोले वर्षभरि खान नपुग्ने अवस्था रहेको उल्लेख गर्दै उहाँ सुन्तलाले आफ्नो जीवनस्तर नै परिवर्तन गरिदिएको बताउनुहुन्छ।
सुन्तलाखेतीबाटै छोराछोरीलाई पढाउन सफल भएको बताउँदै उहाँका छोराहरू अहिले जापान, अमेरिका र पोर्चुगलमा रहेको जानकारी दिनुभयो। सुन्तला लगाएपछि कुनै पनि जग्गा बाँझो नराखेको उहाँको भनाइ छ। पहिले ढोकोमा बोकेर सुन्तला बागलुङ बजारसम्म पुर्याउनुपरेको स्मरण गर्दै अहिले व्यापारीहरू आफैं बारीमै आइपुग्ने गरेको कँडेल बताउनुहुन्छ।
तर, बगानमै बिक्री गर्दा उचित मूल्य नपाइने गुनासो पनि उहाँको छ। “बगानै बेच्दा मूल्य कम पाइन्छ, नबेच्दा बजार नपाएर कुहिने डर हुन्छ,” उहाँले भन्नुभयो, “राज्यले उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिदिने हो भने किसानको आम्दानी अझ बढ्न सक्छ।”
जिल्लाकै बढी सुन्तला उत्पादन गर्ने किसान
लोकनाथ कँडेल बागलुङ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा परिचित हुनुहुन्छ। गत वर्ष उहाँले रु १३ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको थियो भने यस वर्ष हालसम्म रु १५ लाखको सुन्तला बिक्री भइसकेको छ। थप करिब रु दुई लाख बराबरको सुन्तला परिवारको उपभोगका लागि राखिएको उहाँले बताउनुभयो।
तीस बोटबाट सुरु गरिएको खेतीमा हरेक वर्ष नयाँ बिरुवा थप्दै आएको बताउँदै कँडेलले हालसम्म करिब रु २५ लाख लगानी भइसकेको जानकारी दिनुभयो। अहिले किमबोट गाउँमा सुन्तलाखेती नगर्ने घरधुरी लगभग नरहेको उहाँको भनाइ छ।
पछिल्लो समय बिहुँ क्षेत्र ‘सुन्तला गाउँ’ का रूपमा परिचित बन्दै गएको र यस वर्ष चितवन र धादिङका व्यापारीहरूले सुन्तला बगान नै खरिद गरिसकेको कँडेलले जानकारी दिनुभयो। असिनापानीका कारण केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको उहाँले बताउनुभयो।

