अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रेपलाञ्चोक, ७ पुस — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ। गत मङ्सिरको अन्तिम साता आयोजना म्याद सकिएपछि पुनः एक वर्ष थप गरिएसँगै निर्माण कार्यलाई तीव्र बनाइएको हो।

आठ किलोमिटर लामो साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो। उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो।

तर तोकिएको अवधिमा करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। म्याद सकिँदा करिब ४० प्रतिशत काम अधुरो अवस्थामा रहेको हो। कन्स्ट्रक्सनका मेनेजर रविन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत र पीचबाहेक भौतिक प्रगति करिब ९० प्रतिशत सम्पन्न भएको छ।

हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर र पुलबजार–जनागाल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र गरिएको छ। बाँकी खण्डमा पीच कार्यलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो। यसअघि गत मङ्सिर तेस्रो साता डेढ वर्षदेखि अवरुद्ध सूर्यविनायक–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्तरोन्नति कार्य पुनः सुरु गरिएको थियो।

‘सेन्टर लाइन’ विवादका कारण करिब तीन सय मिटर सडक लामो समय अवरुद्ध भएपछि स्थानीयसँग सहमति जुटेपछि कामले निरन्तरता पाएको हो। सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार पहिलो खण्ड साँगा–धुलिखेलमा ६० प्रतिशत र दोस्रो खण्ड सूर्यविनायक–साँगामा ४५ प्रतिशत काम सम्पन्न भएको छ। उहाँका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानमा घर भत्काउने प्रक्रिया अझै जारी छ।

आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायत क्षेत्रमा काम तीव्र पारिएको छ। पुलबजार–जनागाल खण्डमा बनेपातर्फ दायाँ लेनमा आठ सय मिटर लम्बाइ र १० मिटर चौडाइमा कालोपत्र सम्पन्न भइसकेको छ भने बनेपाबाट साँगातर्फ बायाँ लेनको कालोपत्रको तयारी भइरहेको छ।

यस्तै, बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल बिछ्याउने काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट निर्माणको तयारी भइरहेको छ भने चण्डेश्वरी खोलामा पर्खाल निर्माण र फिलिङ कार्य जारी छ। साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा कटिङको काम भइरहेको इञ्जिनियर खनालले जानकारी दिनुभयो।

सूर्यविनायक–धुलिखेल सडक विस्तारअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको छ। उक्त खण्डको ठेक्का अवधि आगामी पुस १८ गते सकिँदैछ।साँघुरो सडकका कारण वर्षेनी बढ्दै गएको ट्राफिक जामलाई कम गर्न अरनिको राजमार्गलाई छ लेनमा विस्तार गर्ने योजना अन्तर्गत यो परियोजना अघि बढाइएको हो।

Facebook Comments Box