१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण

नवलपरासी, ७ पुस — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण गरिएको छ। मध्यविन्दु नगरपालिका–चोरमारामा निर्माण गरिएको उक्त अस्पताल भवन आइतबार उद्घाटन गरिएको हो।

बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी निर्माण सुरु गरिएको अस्पताल भवन तीन वर्षको अवधिमा सम्पन्न भएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी सुविधा सम्पन्न १५ शय्याको नगर अस्पतालका रूपमा पुनःनिर्माण गरिएको उहाँले बताउनुभयो।

४२ कोठा सहित दुई तले अस्पताल भवन निर्माण भएसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहजता आएको नगरप्रमुख अधिकारीको भनाइ छ। नवनिर्मित भवनमा बहिरङ्ग सेवा, प्रयोगशाला (ल्याब), अपरेशन थियटर, फार्मेसी, अन्तरङ्ग विभाग, प्रशासनिक सेवा कक्ष तथा चिकित्सक आवास कक्ष रहेका छन्।

सुविधा सम्पन्न पूर्वाधार तयार भएसँगै अब गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने तयारीमा नगरपालिका लागेको नगरप्रमुख अधिकारीले बताउनुभयो। मध्यविन्दु नगर अस्पतालबाट नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दाले समेत सेवा लिन सक्ने उहाँले जानकारी दिनुभयो।

१५ शय्याको अस्पताल सञ्चालनमा आएपछि उपचार सेवासमेत क्रमशः विस्तार गर्दै लैजाने नगरप्रमुख अधिकारीले बताउनुभयो। उहाँका अनुसार यसै महिनादेखि एमडिजिपीसहित दैनिक रूपमा कम्तीमा एउटा विशेषज्ञ सेवा उपलब्ध गराउने गरी काम सुरु गरिएको छ। बालरोग, फिजियोथेरापी, हाडजोर्नी लगायतका विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ।

अस्पतालमा आँखा अस्पतालसमेत सञ्चालनमा ल्याइएको र शल्यक्रियासहितको आँखा उपचार सेवा सुरु भइसकेको नगरप्रमुख अधिकारीले बताउनुभयो। यसबाट यस क्षेत्रका आँखाका बिरामीलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ। “सुविधा सम्पन्न नगर अस्पताल निर्माण भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै घर नजिक सहज रूपमा स्वास्थ्य उपचार सेवा लिन पाउनेछन्,” नगरप्रमुख अधिकारीले भन्नुभयो।

मध्यविन्दु नगर अस्पतालका प्रमुख अमरेशचन्द्र साहका अनुसार हाल अस्पतालमा दैनिक करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेका छन्। अस्पतालमा आकस्मिक उपचार सेवा पनि सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।पूर्व–पश्चिम राजमार्गसँगै अवस्थित भएकाले राजमार्ग क्षेत्रमा हुने सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउन नगर अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने अस्पताल प्रमुख साहले बताउनुभयो।

Facebook Comments Box