नेपाल आयल निगमद्वारा पेट्रोलको मूल्य वृद्धि, डिजल र मट्टीतेल घट्यो

काठमाडौं, २९ मंसिर – नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर चार रुपैयाँ घटाइएको छ। समायोजन गरिएको नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ।

ढुवानी लागतका आधारमा निगमले देशभरका क्षेत्रलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजल/मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ कायम गरिएको छ भने डिजल/मट्टीतेल प्रतिलिटर १४१ रुपैयाँ पर्नेछ।

यसैगरी तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजल/मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

Facebook Comments Box