प्रचारप्रसार अभावमा ओझेलमा ‘शिला सुत्केरी’

भोजपुर, २२ चैत – शिला सुत्केरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। हतुवागढी गाउँपालिका–४ खैराङ मा अवस्थित यो ऐतिहासिक तथा धार्मिक स्थल प्राकृतिक, सांस्कृतिक र आस्थाका दृष्टिले महत्वपूर्ण भए पनि अपेक्षित पहिचान बनाउन सकेको छैन।

स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ। यही किंवदन्तीका आधारमा यसको नाम ‘शिला सुत्केरी’ रहन गएको स्थानीय गङ्गाबहादुर खड्का बताउनुहुन्छ। ढुङ्गामा सुत्केरी हुँदै गरेकोजस्तो आकृति देखिने दाबीले यस स्थललाई थप रहस्यमय बनाएको छ।

धार्मिक आस्थासँग जोडिएको यस स्थानमा विवाहपछि सन्तान नहुने दम्पतीले पूजा गरे सन्तान प्राप्त हुने विश्वास रहिआएको छ। यसै विश्वासका कारण विगतमा टाढाटाढाबाट दर्शनार्थी आउने गरेका थिए। विशेषगरी बालाचतुर्दशी का अवसरमा यहाँ मेला तथा धार्मिक महोत्सव लाग्ने गरेको थियो। तर पछिल्लो समय यस्ता गतिविधि घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ।

स्थानीयका अनुसार ‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके यसलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले धार्मिक पर्यटनका लागि ठूलो सम्भावना बोकेको छ।

स्थानीय तहले संरक्षणका केही प्रयास भने गरेको छ। वडाध्यक्ष चन्द्रबहादुर विष्ट का अनुसार घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भए पनि दीर्घकालीन विकासका लागि थप स्रोत र योजना आवश्यक छ। तर, शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको विकासमा जटिलता देखिएको छ।

जग्गा व्यवस्थापनको समस्या समाधान नहुँदा केन्द्र सरकारबाट प्राप्त करिब एक करोड रुपैयाँ बजेटसमेत कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो। स्थानीय मानबहादुर राई ले दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि स्पष्ट योजना आवश्यक रहेको बताउनुभएको छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राई ले पनि यस स्थलको विकासलाई प्राथमिकतामा राखिएको भए पनि जग्गा सम्बन्धी समस्या समाधान हुन नसक्दा ठूला योजना अघि बढ्न नसकेको जानकारी दिनुभयो। स्थानीय सरोकारवालाहरूका अनुसार ‘शिला सुत्केरी’को संरक्षण र प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ।

Facebook Comments Box