एनपीएल : विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौँ, २५ मङ्सिर – विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगरलाई ४० रनले हराउँदै शनिबार हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने पक्का गरेको हो।

यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल नजिक पुगेको थियो। तर, दुई–दुई क्वालिफायर खेल्दा पनि जित निकाल्न नसकेपछि उत्कृष्ट लिग चरण खेलेको विराटनगर उपाधि दौडबाट बाहिरियो।

लुम्बिनी भने एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो। पहिलो सिजनको अंक तालिकाको पुछारमा रहेर प्रतियोगिता समाप्त गरेको लुम्बिनीले यसपटक भने फाइनल यात्रा सुनिश्चित गर्न सफल भएको छ।

Facebook Comments Box