गोवाको नाइट क्लब आगलागीमा ज्यान गुमाएका पाँचै नेपालीको पहिचान, शव नेपाल ल्याउने तयारी
काठमाडौँ, २५ मङ्सिर – भारतको गोवास्थित एक नाइट क्लबमा शनिबार राति भएको आगलागीमा ज्यान गुमाएका पाँच नेपालीको पहिचान पुष्टि भएको छ। सो घटनामा २५ जनाले ज्यान गुमाएका थिए। गोवा प्रहरीले पुष्टि गरेअनुसार मृत्यु हुने नेपालीहरूमा
– दाङका ३१ वर्षीय चुर्णबहादुर पुन,
– सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक),
– झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा,
– डडेलधुराका मनोज जोरा रहेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार मृतकहरूको शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग निरन्तर समन्वय गरेको मन्त्रालयले जनाएको छ। चुर्णबहादुर पुनको शव एयर एम्बुलेन्समार्फत् लखनउ हुँदै दाङ पुर्याउने तयारी गरिएको छ। अन्यको हकमा पनि परिवारसम्म शव पुर्याउने व्यवस्था मिलाइँदैछ।
गत शनिबार राति सो नाइट क्लबमा आगलागी भएको थियो। साँघुरो पहुँच तथा सुरक्षा व्यवस्थामा कमजोरीका कारण आगो नियन्त्रणमा कठिनाइ भएका कारण मानव क्षति बढेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
घटनापछि गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। साथै क्लबका मालिकहरू सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। नियमविरुद्ध अनुमति दिएको आरोपमा स्थानीय सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन्। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतक परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।

