बागलुङमा धान उत्पादन वृद्धि

बागलुङ, २४ मङ्सिर – यस वर्ष बागलुङमा धान उत्पादन मागँजसो बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमा वर्षा भएको र रोग–कीराको प्रभाव कम देखिएकाले उत्पादनमा वृद्धि आएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष करिब २० हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ। अघिल्लो वर्ष रोपाइँपछि देखिएको जरा कुहिने रोगका कारण उत्पादन घटेको थियो भने यो वर्ष त्यसको असर न्यून रहेकाले उत्पादन सुधारिएको हो।

बागलुङ धान उत्पादनमा अझै आत्मनिर्भर छैन। यहाँका किसानले खुमल–४, जेठो बुढो, लुम्ले–२, झिनुवा, खुमल–११, खुमल बासमती–१०, मार्सी, जडनलगायतका जातका धानखेती गर्दै आएका छन्। पछिल्लो समय किसानहरू हाइब्रिड जाततर्फ आकर्षित हुन थालेको केन्द्रले जनाएको छ।

सूचना अधिकारी शर्माले किसानको धानखेतीप्रतिको चासो बढ्दो क्रममा रहेको उल्लेख गर्दै भनिन्, “अघिल्लो वर्षको तुलनामा करिब १०० मेट्रिकटन धान बढी उत्पादन भएको छ। वर्षा समयमै भयो, रोगको प्रकोप कम भयो, त्यसैले उत्पादन वृद्धि भएको हो।” जिल्लाका अधिकांश क्षेत्रमा सिँचाइ सुविधा अभाव रहे पनि उत्पादनमा कमी आएको छैन। गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीका अनुसार धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन घटेको छैन।

अघिल्लो वर्षभन्दा तीन मुरी बढी धान फलेको उनले बताए। जैमिनी नगरपालिका–७ का किसान नरेन्द्र पौडेलले पनि गत वर्ष १३ मुरी उत्पादन भएको खेतमा यो वर्ष १६ मुरी धान भित्र्याएको बताए। बागलुङमा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये हाल ३० हजार ५२३ हेक्टरमा मात्र खेती हुँदै आएको छ। जसमध्ये मात्र ६ हजार १४८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ।

Facebook Comments Box