राष्ट्रियसभाको बैठक आज बस्दै, मनसुनजन्य विपद् व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराइने

काठमाडौँ, २१ साउनः – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा अपराह्न सवा १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा विधेयक पेस गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षामन्त्री सिता बादीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनुहुनेछ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

यसैबीच, आजै सङ्घीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिका बैठक पनि बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका बैठक बस्न लागेका हुन्।

समितिका बैठकमा अर्थसम्बन्धी उपसमितिको प्रतिवेदन, मुस्लिम आयोगको कामकारबाही, राष्ट्रिय सेवा दल विधेयक, स्वास्थ्य क्षेत्रको विद्यमान अवस्था तथा मुलुकका समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box