आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौँ, २४ मङ्सिर – मानव अधिकारको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रतिबद्धतालाई बलियो बनाउन आज विश्वभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। नेपालमा पनि राज्यका अंगहरू, मानव अधिकार संस्था, राजनीतिक दल तथा नागरिक समाजका समूहहरूले विभिन्न कार्यक्रम गरी दिवसको महत्त्व उजागर गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलहरूले स्वतन्त्रता, समानता र मानव मर्यादाका मूल्यप्रति प्रतिवद्धता व्यक्त गर्दै शुभकामना सन्देश प्रकाशित गरेका छन्।
सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो। घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, सामाजिक मूल वा जन्मका आधारमा कुनै पनि भेदभाव नगरी प्रत्येक व्यक्तिलाई समान अधिकार र स्वतन्त्रता सुनिश्चित गरेको छ।
नेपालमा यस दिवसले मानव अधिकारप्रतिको जनचेतना विस्तार, अधिकारको सम्मान र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सरोकारवालाहरू बताउँछन्। मङ्गलबार मात्रै मानव अधिकार रक्षकहरूको अन्तरराष्ट्रिय दिवस मनाइएको थियो।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८), मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र (१९९८), नेपाल पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी (१९६६) लगायतका अन्तरराष्ट्रिय मापदण्डहरूले व्यक्तिको आफ्नै अधिकारसँगै अरूका अधिकारका लागि वकालत गर्ने हक सुनिश्चित गरेका छन्।
नेपालको संविधानले विचार–अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने र सङ्गठन खोल्न पाउने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। मानव अधिकारकर्मीको सुरक्षा तथा संरक्षणका लागि नेपाल सरकारले २०७७ मा निर्देशिका जारी गरेको थियो। यही सन्दर्भमा आज विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

