निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग अपरिहार्य : राष्ट्रपति पौडेल
काठमाडौँ, २४ मङ्सिर – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सर्वस्तरको सहयोग आवश्यक रहेको बताएका छन्।
७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले युवापुस्ताको आन्दोलनपछिको राजनीतिक परिवर्तित अवस्थालाई देश–विदेशले विशेष चासोका साथ हेरेको उल्लेख गरे। अहिलेको परिस्थितिलाई सामान्यीकरण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, युवाहरू तथा सर्वसाधारणले संयमित र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले संविधानमा स्थापित मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न नेपालले अझ बढी सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “मानवले मानवजस्तै भएर बाँच्न पाउने जीवनको आधार नै मानव अधिकार हो। त्यसैले आज विश्वभर मानव अधिकार दिवसलाई उच्च सम्मानका साथ मनाइन्छ।”
सन्देशमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रका सिद्धान्तलाई नेपालको संविधानले अवलम्बन गरी स्वतन्त्रता, समानता र न्याय सुदृढ बनाएको उल्लेख छ। नेपाल विभिन्न अन्तरराष्ट्रिय मानव अधिकार सन्धी–सम्झौताहरूको पक्षराष्ट्र भएकाले मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्तिको दायित्वप्रति प्रतिबद्ध रहेको राष्ट्रपति पौडेलले स्पष्ट पारे।
सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सामाजिक संस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियता मार्फत जोखिममा रहेका तथा सीमान्तकृत समूहका हक–अधिकार सुनिश्चित गर्न सकिए मानव अधिकार दिवसको महत्व अझ बढ्ने विश्वास उनले व्यक्त गरे। राष्ट्रपति पौडेलका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मानव अधिकारको महत्वपूर्ण अंग भएको र यसले व्यक्तिको स्वतन्त्रता तथा लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने भूमिका खेल्छ।

