मधेसमा मुख्यमन्त्रीका लागि कांग्रेस नेता यादवको दाबी पेस
जनकपुरधाम, १९ मंसिर- मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ। विभिन्न छ दलको समर्थनसहित उहाँले आज प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी बुझाउनुभएको हो।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल गरी छ राजनीतिक दलले यादवलाई समर्थन गरेका छन्। यी दलका ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर दाबी पत्रमा समावेश गरिएको छ।
दाबी पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरिएको उल्लेख छ।
प्रदेश प्रमुखले मंसिर १७ मा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेअनुसार यादवले आज औपचारिक रूपमा दाबी दर्ता गराउनुभएको हो।

