बजार अनुगमनमा थप सक्रिय बन्दै विभाग

काठमाडौँ, २९ मङ्सिर – बजार अनुगमन तथा निरीक्षणलाई तीव्र बनाउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । तीमध्ये दुई वटा उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९, महानटारस्थित दाहाल गाई फार्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार रु पाँच हजार जरिवाना गरिएको हो ।

यसैगरी कागेश्वरी मनोहरा–९, गोठाटारस्थित डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनका क्रममा अन्य १२ वटा उद्योग तथा फर्मलाई तत्काल सुधार गर्नुपर्ने विषयमा राय–सुझावसहित निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक बिदाका दिन बाहेक देशव्यापी रूपमा स्थानीय प्रशासनको सहयोगमा नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको जनाएको छ । बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न, बिल–बिजक जारी गराउन तथा कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय रहेको स्पष्ट पारिएको छ ।

विभागका पछिल्ला विवरणअनुसार मङ्सिर २६ गते ११ वटा उद्योग तथा फर्मको अनुगमन गरिएको थियो । त्यसअघि मङ्सिर २५ गते २० वटा उद्योग तथा फर्मको अनुगमन गरी दवा सुज एण्ड फेसन सेन्टरलाई रु ५० हजार जरिवाना तिराइएको थियो ।

त्यसैगरी मङ्सिर २४ गते १३ वटा फर्मको अनुगमन गर्दा चार वटा फर्मलाई रु ५० हजार जरिवाना गरिएको थियो । मङ्सिर २३ गते १५ वटा फर्ममा अनुगमन भएको थियो भने मङ्सिर २२ गते १५ वटा फर्मको अनुगमन गर्दा तीन वटा फर्मलाई रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

Facebook Comments Box