प्रतिनिधिसभा निर्वाचनका लागि ९० दिन बाँकी

काठमाडौँ, १९ मंसिर – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन मात्र बाँकी रहेको छ। सरकार, निर्वाचन आयोग र सम्बद्ध निकायहरूले तयारीलाई तीव्र बनाएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र आयोगका पदाधिकारीसँग सर्वदलीय छलफल गर्नुभएको छ भने आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन इच्छुक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई प्रतिनिधिसभा विघटन भएपछि निर्वाचन तयारी सरकारको प्रमुख कार्यसूची बनेको हो।

आयोगका अनुसार मंसिर १४ गतेसम्म १२० राजनीतिक दलले आगामी निर्वाचनमा सहभागी हुन निवेदन दर्ता गरिसकेका छन्। नयाँ दलको आग्रहमा समयसीमा चार दिन थपिएको थियो।

आयोगले हालै सम्पन्न मतदाता नामावली अद्यावधिकमा करिब ८ लाख नयाँ मतदाता समावेश भएको जनाएको छ। यी विवरण अहिले जाँचबुझको क्रममा छन्।

निर्वाचन खर्चका लागि आयोगले माग गरेको करिब ७ अर्बमध्ये अर्थ मन्त्रालयले ५ अर्ब ९६ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको आयोगले जनाएको छ।

सरकार–आयोगको समन्वयमा एकीकृत निर्वाचन सुरक्षा योजना लागू भइसकेको छ। आवश्यक सामग्री खरिददेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यवेक्षक संस्थाका लागि आवेदन मागसमेत सुरु भएको छ।

विदेशस्थित नेपालीको मताधिकार तथा अन्तरजिल्ला मतदानबारे अध्यादेशमार्फत कानुन संशोधन गर्ने प्रक्रिया भने अझै टुंगोमा पुगेको छैन।समानुपातिक प्रणालीतर्फका दलका निवेदन मंसिर २१ देखि २३ गतेसम्म आयोगको कान्तिपथस्थित कार्यालयमा दर्ता गरिनेछ।

यसका लागि सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवार मनोनयन, माघ ७ गते उजुरी, माघ ८ गते नामावली प्रकाशन, र माघ ९ गते उम्मेदवारी फिर्तासहित अन्तिम नामावली र चुनाव चिह्न वितरण हुनेछ। आयोगले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको तयारी पनि गरिरहेको छ।

आयोगले आगामी माघ पहिलो साता जारी गर्ने गरी आचारसंहिताको प्रारम्भिक मस्यौदा सार्वजनिक गरी सुझाव मागेको छ। मतदाता शिक्षा, सूचना प्रवाह, प्रेस अफिस, ‘कमन सेन्टर’ सञ्चालन तथा म्यादी प्रहरी भर्ना प्रक्रियासहितका काम समानान्तर रूपमा अघि बढाइएका छन्।

Facebook Comments Box